​संघीय र प्रदेश सभा सञ्चालनका अनुभव आदानप्रदान सम्बन्धी अन्तरक्रिया काठमाडौंमा


१२ मंसिर, काठमाडौं ।  संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ । 

संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुुरु भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । 

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिनुभयो । प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उहाँको भनाइ छ । सभामुख सापकोटाले हामी चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढि रहेको बताउनुभयो । ‘हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ, संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो ।’ उहाँले भन्नुभयो । 

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राख्नुुभयो ।  

कार्यक्रममा उहाँले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताउनुभयो । 
उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताउनुुभयो । उहाँले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारण राख्नुुभयो ।

अध्यक्ष तिमिल्सिनाले कोभिड १९ अवस्था अनुमानयोग्य  नभएको चर्चा गर्दै अब यससँगै अभ्यस्त हुनुपर्ने बताउनुभयो । लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उहाँले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गर्नुभयो ।

संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि तयारी भइरहेको जानकारी दिनुभयो । संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उहाँले भन्नुभयो । उहाँले हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिनुभयो । यसका लागि कानुन मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति खुसी व्यक्त गर्नुभएको छ । 
उहाँले संसदले हाल सम्मका कार्यमा कति प्रगति भयो भनेर समिक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताउनु भयो । 
‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन,’ उहाँले भन्नुभयो । तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेश मार्फत ऐन ल्याएको चर्चा गर्दै उहाँले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले संसदको यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति काम गर्न सक्यौं भनेर समीक्षा गरिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचारमा अगाडि देखाएको विषयलाई ख्याल राख्दै संघ प्रदेश सबैले सचेत भएर अघि बढ्नुपर्ने धारण राख्नुभयो । संसदबाट बनाइएका कानुन तल्लो तहसम्म कार्यन्वयनमा लैजान सके मात्रै जनतामा राम्रो सन्देश जाने उहाँको भनाइ छ । 

कार्यक्रमको सुरुमा संघीय संसदका महासचिव डा.भरतराज गौतमले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धु्रबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ । 

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी हुनुहुन्छ भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित हुनुहुन्छ ।