राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट


 

काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको धारणा राख्नुभयो । उहाँले जापानको माथिल्लो सदनका चार सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।
‘यहाँहरुको भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद र जनतासम्म प्रगढ हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निमार्ण पश्चात तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निमार्णमा संसद लागिरहेको जानकारी गराउनुभयो । साथै उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर आगडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन र कृषिको आधुनिकिकरण जोड दिइरहेको बताउनुभयो । ‘नेपालको समृद्धिको यात्रामा जापानको पूर्ण साथ र सहयोग हुने अपेक्षा लिएका छौं,’ उहाँले भन्नुभयो ।

सो अवसरमा जापानका जनताबीच पनि सुमधुर सम्बन्ध रहेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपाल र  जापानमा अध्ययन, रोजगारी र व्यापारको शिलशिलामा पुगेका नेपाली पुगेका छन् । त्यस्तै बुद्ध जन्मभूमी नेपालमा जापानी नागरिक घुम्न आउनुहुन्छ । यो संख्या अझै बढ्ने अपेक्षा लिएको छु ।’

त्यसैगरी जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी ओगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको र यसलाई जनस्तरसम्म पुर्‍याउन आफूहरु नेपाल आएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा नेपालमा जापानको सहयोगमा निमार्णाधिन पाँच परियोनाको अवलोकन भ्रमण गरेको बताउनुभयो ।

‘हाम्रो पुरानो मित्र राष्ट्र नेपाल स्थायी सरकार निमार्ण गरी समृद्धिको यात्रामा रहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालको यो यात्रामा सहयोग र साथ दिन तयार छौं ।’ ओगाआले देशको समृद्धिको यात्रामा सबैभन्दा पहिले जनताको वृत्ति विकासमा जोड दिन जरुरी रहेको बताउनुभयो ।