राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख मिल्टन बीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिक (Milton DICK) बीच शिष्टाचार भेटवार्ता भएको छ।
टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५२ औँ महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो।
भेट वार्तामा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।
सो अवसरमा अध्यक्ष दाहालले जेनेभामा भएको भेटको स्मरण गर्दै दुई देशका संसदबीचको सहकार्य, सहयोग र अनुभव आदानप्रदानका लागि थप कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिनुभयो।
.jpeg)
अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो।
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाइ सेवा सञ्चालन गर्न सके दुई देशबीचको सम्बन्ध विस्तारमा थप टेवा पुग्ने उल्लेख गर्दै अध्यक्ष दाहालले व्यापार तथा पर्यटनका क्षेत्रमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।
अष्ट्रेलियामा नेपाली समुदायको ठुलो उपस्थिति रहेको सन्दर्भ कोट्याउँदै अध्यक्ष दाहालले नेपाली समुदायको शिक्षा, रोजगारी र सुरक्षाका लागि संसदको तर्फबाट सकारात्मक पहलकदमीका लागि आग्रह गर्नुभयो।
सो क्रममा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिक (Milton Dick) ले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्दपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताउनु भयो।
आफूले नेपाल भ्रमण गरेर फर्केपछि आफ्नो निर्वाचन क्षेत्रका ३ वटा सरकारी विद्यालयमा नेपाली भाषाको पाठ्यक्रम पनि समावेश गरेको उल्लेख गर्दै सभामुख मिल्टनले आगामी दिनमा त्यसलाई बढाएर लैजाने बताउनु भयो।
एसिया प्यासिफिक क्षेत्रबाट अहिलेसम्म आइपियूको नेतृत्व नभएको र आगामी १५३ औँ महासभामा आफूले आइपियूको अध्यक्षमा उम्मेदवारी दिने उल्लेख गर्दै सभामुख मिल्टनले उक्त निर्वाचनमा नेपालको पूर्ण सहयोग रहनेमा आफू विश्वस्त रहेको बताउनु भयो।
संसदीय मैत्री समूह गठन, आपसी भ्रमण, संसदीय अभ्यास आदान प्रदान जस्ता कार्यमा आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै उहाँले नेपालसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनु भयो।
हवाई सेवा सिधा उडान, शैक्षिक छात्रवृत्ति वृद्धि लगायतका विषयमा आफूहरु सकारात्मक भएको सभामुख मिल्टनको भनाई थियो।
आइपियूको अध्यक्षको उम्मेदवारीका सन्दर्भमा अध्यक्ष दाहालले नेपालको तर्फबाट आगामी आइपियूमा प्रतिनिधि सभाका सभामुखको सहभागिता रहने र आफूले आवश्यक समन्वय गर्ने उल्लेख गर्नुभयो।
भेटमा नेपाली संसदीय प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रिय सभाका सदस्यहरु कृष्णबहादुर रोकाया र डा. अञ्जान शाक्य, राष्ट्रिय सभा सचिव तुलबहादुर कँडेल र शाखा अधिकृत सपना सापकोटाको उपस्थिति रहेको थियो।
चीन र भुटानको संसदीय प्रतिनिधि मण्डलसँग भेट
यसैबीच आइपियूको साइनलाइन मिटिङमा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका सदस्य तथा शिक्षा, विज्ञान, संस्कृति र जनस्वास्थ्य समितिका उपाध्यक्ष Xuejun TIAN नेतृत्वको संसदीय प्रतिनिधि मण्डल र भुटानको संसद काउन्सिल अफ रिप्रेरिजेन्टेटिभका सभामुख Ahmed ALMUSALAM नेतृत्वको टोलीसँग भेट पनि शिष्टाचार भेटवार्ता भएको थियो।


इस्तानबुल (टर्की), वैशाख ६ ।