समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका विभिन्न समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।

हिजो (चैत २४) भएको समिति सभापतिको निर्वाचनमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा माननीय कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा माननीय कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माननीय पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा माननीय जयन्ती देवी राई निर्विरोध निर्वाचित हुनुभएको थियो।
नवनिर्वाचित सभापतिहरुलाई अध्यक्षज्यूले शपथसँगै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
