छठ पर्वको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
तराई/मधेशका नेपाली समुदायले विशेष उल्लासका साथ मनाउने छठ पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने मैले विश्वास लिएको छु।
सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ। अस्ताउँदो सूर्यलाई अर्घ दिई नदी वा जलासयको छेऊमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिनु छठ पर्वको मुख्य विशेषता हो। मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्शाउने गरेको पाइन्छ।
हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो। संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ। विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो।
परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ कार्तिक १० । ने.सं. ११४६ कछलाथ्वः ५.८, सोमबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
