राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष दाहालको चीन, बेलायत र श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता
जेनेभा, अक्टुबर २२ । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहनुभएका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो।
IPU को Asia Pacific Group को अध्यक्ष समेत रहनुभएका चिनियाँ नेता Xueijun Tian नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, Fabian Hamilton नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र Sunil Watagala नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो।

सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो।
अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनु भयो।

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो।
भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
