नेपाल संवत् ११४६ को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ शुभारम्भको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवतले विशिष्ट भूमिका खेलेको छ। विशेष गरी नेवार समुदायले नेपाल संवतलाई व्यावहारिक रुपमा लागू गर्दै आइरहेकोमा पछिल्लो समय सरकारी दस्तावेजमा यस संवतलाई अनिवार्य गरिएको छ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको शुरुवातसँगै नेपाल संवतले राष्ट्रिय मान्यता पाएको कुरा यहाँ स्मरणयोग्य छ। वि.सं. २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल संवतलाई सरकारी माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेसँगै व्यावहारिक प्रयोगमा आएको छ।
नेपाल संवतलाई राष्ट्रिय विभूति शंखधर शाख्वाले शुरुवात गर्नुभएको थियो। नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ। नेपाल संवत् ११४६ को शुभारम्भको यस अवसरमा उहाँप्रति विशेष सम्मान व्यक्त गर्दछु।
फेरि पनि नेपाल संवत् ११४६ ले सबैलाई आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वासका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ कार्तिक ५ । ने.सं. ११४६ कछलाथ्वः १, बुधबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
