तिहारको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
नेपालीहरूको विशेष पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको छु।
तिहार हिन्दु धर्मावलम्बीहरूको लागि दशैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यमपञ्चकको रुपमा पाँच दिनसम्म धुमधामपूर्वक मनाइने तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा विशिष्ट महत्व छ। कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ। यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्त्व कति रहेछ भन्ने देखाउँछ।
तिहारको अन्तिम अर्थात् पाँचौँ दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरुको पुनर्मिलन गराउँछ। त्यस्तै तिहारमा खेलिने देउसी भैलो लगायतका सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो। नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको छ। यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत हुन्।
अन्तमा, तिहार पर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वासका साथ फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ कार्तिक ३ । ने.सं. ११४५ कौलागाः १४, सोमबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
