बडादशैँको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश



नेपालीहरूको महान् चाड बडादशैँको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। बडादशैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने मैले विश्वास लिएको छु।

बडादशैँ हिन्दु धर्मालम्बी नेपालीहरूको मुख्य पर्व हो। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ। दशैँमा परिवारका सबै सदस्यहरू जम्मा हुने र परिवारको ज्येष्ठ सदस्य लगायत अग्रजको हातबाट टीका र आशिर्वाद लिने परम्परा रहिआएको छ। 

पूर्वीय दर्शन, सभ्यता, मौलिक संस्कृति आफैमा विविधताको एकत्व हो। विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ। फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसीयाली आदान प्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दशैँ मनाउन म सबैलाई आग्रह गर्दछु। 

जेनजी पुस्ताको आन्दोलन र त्यसबाट विकसित नयाँ परिस्थितिका बीच आगामी फागुन २१ गते निर्वाचनको घोषणा भएको छ। आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती हामी सबैका सामु रहेको छ। 

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व हाम्रासामु रहेको छ। नेपाली जनतामा देखिएको निरासा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माण गर्न योगदान गर्नु हामी सबैको दायित्व हो। 
अन्तमा, यस पर्वले समृद्ध र समुन्नत नेपाल निर्माणमा एकताबद्ध भएर लाग्न प्रेरणा दिने विश्वाससहित फेरि पनि बडा दशैँको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८२ असोज १३ । ने.सं. ११४५ कौलाथ्वः ७, सोमबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा