​संविधान दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश


 
संविधान दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा देशको परिवर्तन र संविधान सभाबाट अग्रगामी संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते, अपाङ्गहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

वि.सं. २०७२ साल असोज ३ गते जनताबाट निर्वाचित प्रतिनिधिहरू रहेको संविधान सभाले नेपालको संविधान जारी गरेको थियो। सोही दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई गौरव र उत्सवका रूपमा मनाउने गरिएको छ। नेपालको राजनीतिक इतिहासमा संविधान सभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना थियो। २००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलनहरू, सशस्त्र सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलन लगायत उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी/समानुपातिक प्रणालीसहितको संविधान निर्माण गर्न नेपाली जनता सफल भएका हुन्। 

आज हामीले संविधान दिवस मनाइरहँदा देशको राजनीतिक परिस्थिति फेरिएको छ। जेन-जी (Gen-Z) हरूको आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ र आगामी फागुन २१ गते निर्वाचन गर्ने गरि अन्तरिम सरकार गठन भएको छ। आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती हामी सबैका सामु रहेको छ। 

संविधान जारी भएयता संघीय संसदले थुप्रै ऐन निर्माण गरे पनि अझैँ केही महत्वपूर्ण ऐन निर्माण गर्न बाँकी नै छ। संविधानले आवश्यक देखेका ऐन कानून छिटो बनाई जनताको बलमा स्थापित शासन व्यवस्थाको संस्थागत गर्नु हामी सबैको दायित्व हो। प्रतिनिधि सभा नभएको वर्तमान अवस्थामा संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहने सबैलाई विश्वास दिलाउन चाहन्छु।

संविधान जारी गरिएको यस ऐतिहासिक दिनले हामी सबैलाई संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वाससहित फेरि पनि संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। 

वि.सं. २०८२ असोज ३ । ने.सं. ११४५ यंलागाः १३, शुक्रबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा