तीज पर्व २०८२ को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश



हिन्दु धर्मालम्बी नेपाली महिलाहरूको विशेष चाड तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध बिस्तार गर्नुका साथै महिला अधिकार, सशक्तिकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास लिएको छु।

पूर्वीय दर्शनमा तीज पर्वको महत्त्व र प्रारम्भको आफ्नै इतिहास छ। लक्ष्य प्राप्तिका लागि कठिन सङ्घर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तीज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तिकरणका लागि प्रेरणा दिने पर्वका रुपमा मनाउन थालिएको छ। आ-आफ्ना माइतमा आमा बुवा, दिदी बहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरि रमाइलो गर्ने, सुख दुःख साट्ने र पुराना सम्बन्ध पुनर्ताजगी गर्ने तीज महिलाहरुको सांस्कृतिक पर्व हो भन्ने मलाई लाग्छ। 

अहिलेको २१औँ शताब्दीमा आइपुग्दा परम्पराका नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज पर्वलाई मनाउनु पर्दछ। तीज पर्वमा भित्रिन सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरूप्रति सचेत रहँदै लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रूपमा तीज मनाउन अनुरोधसहित तीज पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८२ भदौ १० । ने.सं. ११४५ यंलाथ्वः ३, मंगलबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा