संसद दिवस २०८२ को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
संसद दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। सङ्घर्षका दौरान बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। लोकतन्त्र प्राप्तिको लडाईंमा सहभागी नागरिक समाज, राजनीतिक व्यक्तित्व तथा आम नागरिकहरूको योगदानको उच्च कदर गर्दछु।
नेपालमा पहिलो जननिर्वाचित संसदको पहिलो बैठक बसेको वि.सं. २०१६ असार १६ गतेको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद दिवस मनाउने गरिएको छ। नेपालमा संसदीय अभ्यास शुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकार लगायत सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु।
संसद जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो। संसदमा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहन्छ। संसदले कानून बनाउँछ, बजेट स्वीकृत गर्छ, सरकारको गतिविधिमा निगरानी गर्छ र आम नागरिकका अधिकार सुनिश्चित गर्ने कानूनी व्यवस्था गर्दछ। अहिले नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक संघीय शासन प्रणालीको प्रक्रियामा छौं। हाम्रो साझा उद्देश्य संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ। यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ। संसद दिवस मनाइरहँदा संसदले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा कसरी काम गर्न सक्छ? संसदलाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान जरूरी छ।
संसदलाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोको रुपमा विकास गर्न संसद दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित समस्त नेपाली दिदीबहिनी दाजुभाइहरू, संघीय संसदका पदाधिकारी तथा सदस्यहरू, संविधान सभा सदस्य, पूर्व सांसद, संघीय संसद सचिवालयका कर्मचारीहरू सबैमा फेरि पनि संसद दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ असार १६ । ने.सं. ११४५ दिल्लाथ्वः ५, सोमबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
