बकर ईद (ईद उल अज्हा)को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
इस्लाम धर्मालम्बीहरूको विशेष पर्व बकर ईद (ईद उल अज्हा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।
इस्लाम धर्मालम्बीहरूले बलिदान (कुर्बानी) को पर्वका रूपमा मनाइने बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्र स्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौं इस्लाम धर्मालम्बीहरू पुग्दछन्। यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा संघीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको छ। संविधानले नै हाम्रो देश नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको छ। विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ-आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्।
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो। यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्नुका साथै सबै वर्ग, धर्म, जातजाति, लिङ्ग र क्षेत्रलाई अधिकारसम्पन्न गराउने गणतान्त्रिक संविधानलाई दृढताका साथ कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वाससहित फेरि पनि बकर ईद पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ जेठ २४ । ने.सं. ११४५ तछलाथ्वः १२, शनिबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
