जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् सु-स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिवसले हामी सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने मैले विश्वास लिएको छु।
वि.सं. २०६३ जेठ २१ गतेका दिन सरकारले नेपाललाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ।
यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानव अधिकारको प्रवर्द्धन गर्ने अवसर पनि हो। जातीय विभेद र छुवाछुतविरुद्ध सङ्घर्ष गर्ने दायित्व केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा दायित्व र जिम्मेवारी हो। त्यसले मात्रै विभेदरहित न्यायपूर्ण, समावेशी र समतामूलक समाज निर्माण सम्भव हुन्छ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ।
नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछुत प्रथा उन्मुलनका लागि थुप्रै कानूनी व्यवस्था भएका छन्। तर पनि समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछुत पूर्ण रुपमा उन्मुलन भएको छैन। राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिकै इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछुत उन्मुलन गर्न आफैबाट शुरुवात गर्नु पर्दछ भन्ने मलाई लाग्दछ।
फेरि पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ जेठ २१ । ने.सं. ११४५ तछलाथ्वः ९, बुधबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
