गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना सन्देश
गणतन्त्र दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनहरुमा आफ्नो प्राणोत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। बेपत्ता/घाइते अपाङ्ग योद्धाहरूका साथै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकार लगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु।
१७ वर्षअघि आजकै दिन वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो। साढे दुई सय बर्षदेखि चलिआएको वंशीय परम्परामा आधारित निरङ्कुश राजतन्त्रको अन्त गरी गणतान्त्रिक व्यवस्था स्थापना गर्नु नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक परिवर्तन थियो।
गणतन्त्र दिवस वंशीय परम्परामा आधारित निरङ्कुश र एकात्मक राजतन्त्रलाई जनताले जितेको अवसरमा मनाइने उत्सव हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिक/समावेशी शासन प्रणाली र संघीयताको कुशलताका साथ अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्।
गणतान्त्रिक व्यवस्था शासन पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनुपर्ने मुख्य विषय हो। जनअपेक्षा अनुरुप काम गर्न नसक्दा देखिएको निरासालाई आफ्नो स्वार्थ पूरा गर्ने अस्त्रको रुपमा प्रयोग गर्दै पश्चगामी पुनर्उत्थानवादी शक्तिहरुले फेरि पनि आफ्नो लुटको स्वर्ग फिर्ता गर्न सकिन्छ कि भनेर दुस्प्रयास गरिरहेका छन्। तर, गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै सक्दैन।
गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो। संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता हो।
आजको दिनले हामी सबैलाई सहिदहरूले देखाएको सत्य र न्यायको बाटोमा हिड्न तथा हामीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भन्ने कामनाका साथ फेरि पनि गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ जेठ १५ । ने.सं. ११४५ तछलाथ्वः ३.९, बिहीबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
