बुद्ध जयन्तीको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको शुभकामना सन्देश
२५६९ औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइ एवम् विश्वभर रहनुभएका बौद्ध धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
विश्वशान्तिका अग्रदूत गौतम बुद्ध २५ सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएको थियो। उहाँले शान्ति र मानव कल्याणका लागि गृहत्याग गरी कठोर साधनाबाट ज्ञान प्राप्त गर्नुभयो। उहाँले पहिल्याउनु भएको ज्ञानले आज विश्वलाई शान्ति, अहिंसा, सत्मार्ग र मानव कल्याणको बाटोमा हिड्न प्रेरित गरिरहेको छ।
नेपालको लुम्बिनी बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम थलो हो। यस स्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र एवम् उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभरका बौद्ध मार्गीहरूलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा पनि ठूलो योगदान हुन सक्छ। लुम्बिनीलाई बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्न जरुरी छ। साथै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न आवश्यक रहेको छ।
बुद्धको दर्शन र उहाँले दिनुभएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ। बुद्ध जयन्तीले हामी सबैलाई शान्ति, सत्मार्ग र मानव कल्याणको बाटोमा हिड्न प्रेरणा दिनेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८२ वैशाख २९ । नेपाल संवत् ११४५ बछलाथ्वः १५, सोमबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
