​विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको शुभकामना सन्देश



विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि विभिन्न समयमा भएका सङ्घर्षमा प्राणोत्सर्ग गर्नुहुने सम्पूर्ण पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। 

यस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवम् पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने मैले विश्वास लिएको छु।

यस वर्षको प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभावका सन्दर्भमा केन्द्रित रहेको छ। विज्ञान प्रविधिको नवीनतम विकासका रूपमा एआईको प्रवेशले पत्रकारिता क्षेत्रमा यसको सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता चुनौतीहरू समेत सिर्जना गरेको छ। पत्रकारिता क्षेत्रले यस प्रविधिलाई सदुपयोगसहित उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिताको अभ्यासलाई निरन्तरता दिनुपर्ने आवश्यकता अझ बढाएको छ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका विभिन्न सशक्त र सशस्त्र सङ्घर्षको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान र त्यसको कार्यान्वयनमा नेपाली प्रेसले निर्विकल्प भूमिका खेलेको यथार्थलाई हामी सबैले स्वीकार्नु पर्छ। नेपाली पत्रकारिता जगतले दुर्गम क्षेत्र, पीडित वर्ग, सीमान्तकृत समुदाय र आवाजविहीनका आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसका साथै नेपालको संसदीय अभ्यासलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रेस जगतले संसद, सरकार र राज्यका समग्र पक्षलाई निरन्तर दिएको खबरदारी र सुझावले रचनात्मक सहयोग नै पुगेको मैले महसुस गरेको छु। 

हाम्रो संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता समावेश गरिएको छ। प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। साथै सञ्चारकर्मीहरूले कुनै पनि दबाब, प्रभाव र अवरोधबिना पेशागत उत्तरदायित्व निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य, समाज र सबै सरोकारवालाहरूलाई सचेत गराउन चाहन्छु।

अन्त्यमा, यस दिवसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वाससहित विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८२ बैशाख २० । ने. सं. ११४५ बछलाथ्वः ६, शनिबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा