नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको शुभकामना सन्देश


नयाँ वर्ष वि.सं. २०८२ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस वर्ष देशमा सुशासन, समृद्धि र राष्ट्रिय एकता मजबुत हुनुका साथै सबै नेपालीहरूमा सकारात्मक सोच र भाइचाराको भावना विकास हुनेछ भन्ने मैले अपेक्षा लिएको छु।

हामी २०८१ साललाई बिदा गरी २०८२ सालमा प्रवेश गरेका छौँ। बितेको वर्ष राजनीतिक उतारचढाव, केही आशा र केही निराशाकै बीचबाट गुज्रिएको छ। आम नागरिकका चाहना समयमै सम्बोधन गर्न नसक्दा विविध रूपमा प्रकट भएका असन्तुष्टिका स्वरहरूले ०८१ सालमा अलि बढी ठाउँ लिएको यथार्थ हामी सबैले देखे-भोगेकै छौँ। जनताका भावना र न्यूनतम आवश्यकता परिपूर्ति गर्न राज्यले प्रत्याभूति दिलाउन नसक्दा जनतामा फैलिएको निराशालाई प्रतिगामीहरूले हाम्रा उपलब्धिमाथि नै प्रश्न उठाउन खोज्नु ०८१ सालको दुखद पक्ष हो। त्यसतर्फ सचेत हुँदै गणतन्त्र विरोधी हर्कतलाई बेलैमा निस्तेज पारी गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्रै हुन सक्दछ भन्ने विषय आम नागरिकलाई बुझाउनु हामी सबैको दायित्व हो। 

संघीय संसदले कानून निर्माण, सरकारका काम कारबाहीमा निगरानी र खबरदारी एवम् जनताका आवाजको प्रतिनिधित्व गर्ने विशिष्ट भूमिका खेल्दै आएको छ। तर, नयाँ संविधान जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि हामीले संघीयता कार्यान्वयन सम्बन्धी महत्त्वपूर्ण कतिपय कानूनहरू निर्माण गर्न सकेका छैनौँ। यसले सेवा प्रवाहमा असहजता पैदा गरेको छ भने नागरिकमा अन्योलता बढाएको छ। त्यसैले कानून निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरूरी छ। नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानून छिटो छरितो निर्माण हुनेछन् र ८० को दशकलाई समृद्ध एवम् विकसित नेपाल निर्माणको आधार बनाउन हामी सबैको योगदान रहनेछ भन्ने मैले विश्वास लिएको छु।

फेरि पनि नयाँ वर्षले राजनीतिक इमान्दारिता र नैतिकतासहितको सक्षम नेतृत्व विकास गर्न हामी सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वाससहित २०८२ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८२ बैशाख १ । ने.सं. ११४५ चौलागाः १, सोमबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा