इद उल फित्रको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको शुभकामना सन्देश


इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु। यस पर्वले हामी सबैलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु।

मुस्लिम समुदायको विशिष्ट पर्व इद उल फित्रले दान, सहयोगको भावना र आत्मिक शुद्धतालाई विशेष महत्त्व दिएको पाइन्छ। यस पर्वले धार्मिक सहिष्णुता, सहयोग र मानवीय सहकार्यको भावनालाई वृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको छ।

नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता एवम् भौगोलिक विविधतासहितको एकत्त्वलाई स्वीकार गरेको छ। यस्ता पर्वहरूले विभिन्न धर्म एवम् समुदायका धार्मिक, सांस्कृतिक आस्थालाई सम्मान गर्दै विविध सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन्।

यस पर्वले समस्त नेपालीबीच आपसी एकता, धार्मिक सहिष्णुता र सद्भाव कायम गरी अघि बढ्न प्रेरित गर्ने विश्वाससहित फेरि पनि इद उल फित्रको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८१ चैत १८ । ने.सं. ११४५ चौलाथ्वः २, सोमबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा