फागु पूर्णिमाको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको शुभकामना सन्देश


सद्भाव, भातृत्व र विविध रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भातृत्व एवं विविध रङ्गहरुको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।
नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पूर्णिमा (होली) पनि एक विशिष्ट पर्व हो। पहाडमा पहिलो दिन र तराई-मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेष गरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ। परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एक अर्कालाई विविध रङ्ग दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वको रूपमा मनाउने गरिन्छ। नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस होली पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै आएको छ।
पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौं। विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो।
होलीमा जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हुलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेका छन्। त्यस्ता विकृतिहरूलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन म सबैमा अनुरोध गर्दछु। यस पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र भावनात्मक एकता कायम गर्न प्रेरणा दिने अपेक्षासहित फेरि पनि फागु पूर्णिमा (होली) पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८१ फागुन २९ । ने.सं. ११४५ चिल्लाथ्वः १४, बिहीबार
नारायण प्रसाद दाहाल 
अध्यक्ष, राष्ट्रिय सभा