अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षको शुभकामना सन्देश


११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्‍घ संस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
लैङ्गिक समानता, महिला अधिकार एवं समान कामका लागि समान ज्यालाको आवाज उठाउँदै अधिकार प्राप्तिका लागि लड्ने प्रेरणा दिएको आजको दिन ८ मार्च संसारभरका महिलाहरूको लागि ऐतिहासिक र गौरवमय दिन हो। यस दिनले हामी सबैलाई लैङ्गिक समानता, सशक्तिकरण र अधिकार प्राप्तिको आन्दोलनमा एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।
यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट "For ALL Women and Girls: Rights. Equality. Empowerment." भन्‍ने अन्तर्राष्ट्रिय नारा र “सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण” भन्‍ने राष्ट्रिय नारासहित विविध कार्यक्रम गरि मनाइदैछ। श्रमिक महिला दिवस मनाइरहँदा हामीले पछिल्लो समय बदलिएको समाजमा महिला तथा बालिकाहरूमाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिहरूलाई समयमै बुझी तिनीहरुलाई निस्तेज गर्न जरुरी छ। त्यसका लागि महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्‍चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाहरूको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आवश्यक देखिन्छ।
नेपालमा महिलाहरुको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ। संविधान र ऐनमार्फत् महिलाहरूका पक्षमा व्यवस्था गरिएका कानुनहरूको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तिकरणका विषय पूरा गर्न सकिन्छ।
अन्तमा, सबैखाले लैङ्गिक विभेद र असमानता तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन यस दिवसले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वाससहित फेरि पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८१ फागुन २४ । ने.सं. ११४५ चिल्लाथ्वः ९, शनिबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा