ग्याल्पो ल्होसारको शुभकामना
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदायका साथै समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने मैले विश्वास लिएको छु।
नेपालको हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान रहेको छ। शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व हो। यस पर्वमा मौलिक परिकारहरू खाने, परम्परागत संस्कृतिमा आधारित पूजाआजा गर्ने, घर-घरमा बौद्ध धर्मावलम्बीहरूको ध्वजा फहराउने र आपसमा शुभकामना आदान प्रदान गर्ने परम्परा रहिआएको छ।
नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्त्वलाई स्वीकार गरेको छ। यस प्रकारका पर्वहरूले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन्।
अन्तमा, यस पर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरूमा ग्याल्पो ल्होसारको हार्दिक शुभकामना व्यक्त गर्दछु।
वि.सं. २०८१ फागुन १६ । ने.सं. ११४५ चिल्लाथ्वः १, शुक्रबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा
