राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना


 
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को ऐतिहासिक अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा निरंकुश जहानियाँ राणा शासनविरुद्धको वि.सं. २००७ सालको ऐतिहासिक राजनीतिक परिवर्तनका क्रममा प्राणको आहुति दिनुहुने सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्नुहुने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

आजको दिन अग्रगामी राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने ऐतिहासिक दिन हो। नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तन नै लोकतन्त्र प्राप्तिको लागि पहिलो संगठित, सशक्त र सशस्त्र आन्दोलन भएकोमा दुई मत छैन। प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ।

प्रजातन्त्रको अनुभूति गर्न नपाउँदै नेपाली जनताले निरंकुश पञ्चायती व्यवस्था व्यहोर्नु पर्ने अवस्था आयो। निरंकुश पञ्चायती व्यवस्था विरुद्धको ४६ सालको जनआन्दोलन, त्यसपछिको सशस्त्र विद्रोह, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायत विभिन्न आन्दोलनका बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूले लेखेको नेपालको संविधान २०७२ जारी गरि संविधानमै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली र समाजवादप्रति प्रतिबद्ध रहनेजस्ता महत्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरिएको छ।

लोकतन्त्रको प्रवर्धन र सुदृढीकरणका लागि संसद महत्वपूर्ण संस्था हो। राष्ट्रिय सभाले नीति निर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील रहँदै आएको छ। यस ऐतिहासिक दिनमा हामी सबै मिलेर लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा प्रजातान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउन अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ। लोकतन्त्रको रक्षा, अभिव्यक्ति स्वतन्त्रता एवं देशको समृद्धि र विकासको लागि हामी सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस्, फेरि पनि राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८१ फागुन ७ । ने.सं. ११४५ सिल्लागाः ६.८, बुधबार
                                                                        
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा