राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट
काठमाडौं, असोज २२ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभ Aleksei Novikov ले शिष्टाचार भेट गर्नुभएको छ।
राजदूत नोभिकोभले आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो।
भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष दाहालले नेपाल-रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। नेपालको संघीय संसदमा नेपाल-रुस संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदान प्रदान गर्न सहज हुने बताउनु भयो।
नेपाली विद्यार्थीहरुलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं-मस्को सिधा हवाइ सुविधा सुचारु गर्न पहल गर्नु आग्रह गर्नुभयो।
नेपालको कृषि, प्रविधि र उर्जाको क्षेत्रमा लगानी गर्न रुसी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धन गरि रुसी नागरिकहरुलाई नेपाल भ्रमणको वातावरण बताउन पनि अनुरोध गर्नुभयो।
रुस-युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरु विभिन्न माध्यामबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह स्मरण गराउनु भएको थियो।
सो अवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको भन्दै आपसी हित, सहयोग आदान प्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताउनु भयो।
नेपालमा पर्यटनको सम्भावना धेरै राम्रो भएको उल्लेख गर्दै उहाँले रुसले लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरुको संख्या वृद्धि हुने बताउनु भयो।
नेपालले जलविद्युत उत्पादनबाट राम्रो आम्दानी गर्न सक्ने भन्दै राजदूत नाभिकोभले रुसका लगानीकर्ताहरु नेपालमा विद्युत उत्पादनमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो। सो अवसरमा उहाँले जलविद्युत उत्पादन, हवाइ सेवा विस्तार, अन्तरीक्षमा संयुक्त उडान, प्रविधि लगायतका क्षेत्रमा रुसले नेपालमा काम गर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले पहल गरिदिन आग्रह गर्नुभयो।
नेपाली विद्यार्थीहरुलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएको भन्दै राजदूत नोभिकोभले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा पढिरहेको बताउनु भयो। केही समयमै छात्रवृत्तिको संख्या बढाएर दुई सयसम्म पुर्याउने योजना रहेको उल्लेख गर्दै उहाँले त्यसले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताउनु भयो।
नेपाल-मस्को सिधा हवाइ सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै राजदूत नोभिकोभले नेपाल सरकारले थप पहल गरे सिधा हवाइ सेवा शुरु गर्न गाह्रो विषय नभएको बताउनु भयो।