संसद दिवसको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले व्यक्त गर्नुभएको शुभकामना


संसद दिवस २०८१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। सङ्घर्षका दौरान बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। लोकतन्त्र प्राप्तिको लडाईंमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरी लड्ने नागरिक समाज, राजनीतिक व्यक्तित्व तथा आम नागरिकहरूको योगदानको उच्च कदर गर्दछु।

वि.सं. २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसदको पहिलो बैठक बसेको थियो। सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद दिवस मनाउने गरिएको छ। नेपालमा संसदीय अभ्यास शुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकार लगायत सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु।

संसद जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो हो। संसदमा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहन्छ। अहिले नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक संघीय शासन प्रणालीको प्रक्रियामा छौं। संसदको गरिमालाई अझ उँचो बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद दिवसको अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नु पर्दछ। जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउन सके मात्रै संसद दिवस मनाउनुको सार्थकता हुनेछ।

संसदलाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोको रुपमा विकास गर्न संसद दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित समस्त नेपाली दिदीबहिनी दाजुभाइहरू, संघीय संसदका पदाधिकारी तथा सदस्यहरू, संविधान सभा सदस्य, पूर्व सांसद, संघीय संसद सचिवालयका कर्मचारीहरूमा संसद दिवस २०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८१ असार १६ गते आइतबार
नेपल संवत् ११४४ तछलागाः ९, आइतबार
 
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा

ट्यागहरु: