राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले उभौली पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश



किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायका साथै किराँत समुदायका दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु।

हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र हो। संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ। विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ-आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो।

प्राकृतिक प्रकोपबाट बच्न र अन्न बाली राम्रो होस् भनी भूमि पूजा गरि उभौली पर्व मनाउने गरिन्छ। प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर हाम्रो कृषि प्रधान देशका लागि यो पर्व थप प्रेरणादायी र सन्देशमूलक समेत छ। उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्धन गर्नका साथै सबै नेपाली जनताको वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न समेत प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु।

उभौली पर्वले सबै वर्ग, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

२०८१ जेठ १०, बिहीबार ।  नेपाल संवत् ११४४ बछलाथ्वः १५, बिहीबार

नारायण प्रसाद दाहाल
अध्यक्ष,
राष्ट्रिय सभा

May be an image of text
 

ट्यागहरु: