बकरिदको अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूले दिनुभएको शुभकामना सन्देश



इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बकरिद (ईद उल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले हामी सबैलाई त्याग, समर्पण र एकताको भावना पैदा गरि सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु।

मुस्लिम समुदायले बकरिदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरि हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। भाइचारा, पारिवारिक एकता र सद्भावका रुपमा मनाइने यो पर्वमा पवित्र स्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौं इस्लाम धर्मावलम्बीहरू पुग्दछन्। बलिदान (कुर्बानी) को पर्वका रुपमा मनाइने यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

हाम्रो देश नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त धर्मनिरपेक्ष राष्ट्र हो। हाम्रो संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ। विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ-आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो। यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकरिदले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्नुका साथै सबै वर्ग, धर्म, जातजाति, लिङ्ग र क्षेत्रलाई अधिकारसम्पन्न गराउने गणतान्त्रिक संविधानलाई दृढताका साथ कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वाससहित बकरिदको हार्दिक शुभकामना व्यक्त गर्दछु।
 
२०८१ असार ३, सोमबार
नेपाल सम्वत् ११४४  तछलाथ्वः ११, सोमबार

नारायण प्रसाद दाहाल
अध्यक्ष


ट्यागहरु: