राष्ट्रिय सभाका अध्यक्षज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश


नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि गणतन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। यस क्रममा बेपत्ता तथा घाइते अपाङ्ग भएकाहरू सहित गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकार लगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक राजनीतिक परिघटना हो। वर्षौंदेखि जरा गाडेर बसेको वंशीय परम्परामा आधारित निरङ्कुश व्यवस्थालाई हटाएर जनताबाट चुनिएर राज्यको सर्वोच्च तहमा पु-याउने गणतान्त्रिक व्यवस्था स्थापना गर्नु चानचुने परिवर्तन होइन। जनताको वीरतापूर्ण सङ्घर्षको बलमा १६ वर्षअघि आजकै दिन २०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाबाट एकात्मक सामन्ती राज्यसत्ताको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको ऐतिहासिक घोषणा गरिएको थियो।
गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिक/समावेशी शासन प्रणाली र संघीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्। गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ। देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ। यसतर्फ संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको छ।
आजको दिनले हामी सबैलाई सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिड्न तथा हामीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भन्ने कामनाका साथ फेरि पनि गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
२०८१ जेठ १५, मङ्गलबार
नेपाल संवत् ११४४ बछलागाः ५, मङ्गलबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा

ट्यागहरु: