राष्ट्रिय सभाका अध्यक्षज्यूले बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश


२५६८ औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहनुभएका बौद्ध धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

विश्वशान्तिका अग्रदूत गौतम बुद्ध २५ सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएको थियो। उहाँले शान्ति र मानव कल्याणका लागि गृहत्याग गरी कठोर साधनाबाट ज्ञान प्राप्त गर्नुभयो। उहाँले पहिल्याउनु भएको ज्ञानले आज विश्वलाई शान्ति, अहिंसा, सत्मार्ग र मानव कल्याणको बाटोमा हिड्न प्रेरित गरिरहेको छ। 

बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि निकै गौरवको विषय हो। बुद्ध दर्शनको उद्गम थलो लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुन सक्छ। विश्वभरका बुद्धका अनुयायीहरुलाई बुद्धभूमि नेपाल ल्याई पर्यटन क्षेत्रको रुपमा प्रवर्धन गर्न र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्न जरुरी छ। 

बुद्धको दर्शन र उहाँले दिनुभएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ। बुद्ध जयन्तीले हामी सबैलाई शान्ति, सत्मार्ग र मानव कल्याणको बाटोमा हिड्न प्रेरणा दिनेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

२०८१ जेठ १०, बिहीबार
नेपाल संवत् ११४४ बछलाथ्वः १५, बिहीबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा

ट्यागहरु: