विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्षज्यूले व्यक्त गर्नुभएको शुभकामना सन्देश


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता कर्म गरिरहँदा शहादत प्राप्त गर्नुहुने पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं उच्च सम्मान व्यक्त गर्दछु।
सन् १९९३ मा संयुक्त राष्ट्र संघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। 'स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र' जारी गरेको दिनको सम्झनामा यस दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन शुरू गरिएको थियो।
विभिन्न राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं। देशमा निरङ्कुशतन्त्रलाई हटाएर लोकतन्त्र स्थापनामा प्रेस जगतले निर्वाह गरेको भूमिका उच्च रहेको छ। नेपाली जनताले संविधान सभाबाट निर्माण गरेको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता व्यक्त गरिएको छ। यसलाई कार्यान्वयनमा ल्याउन राज्यले सञ्चार क्षेत्रको संरक्षण, संवर्धन एवं विकासका निम्ति आवश्यक नीति तथा ऐन कानून निर्माण गर्न जरुरी छ। प्रेस स्वतन्त्रता दिवस सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धता स्मरण गराउने र सञ्चार माध्यम एवं सञ्चारकर्मीहरूले व्यावसायिक आचारसंहिता पालनामा प्रतिबद्ध रहने दिनका रूपमा लिनु पर्दछ।
प्रेस स्वतन्त्रताबिना सुदृढ र उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन भन्ने विषयलाई मनन् गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसले हामी सबैलाई नागरिक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहन एवं नेपाल र नेपाली जनताको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
२०८१ बैशाख २१, शुक्रबार (३ मे, २०२४)
नेपाल संवत् ११४४ चौलागाः १०, शुक्रबार
नारायण प्रसाद दाहाल
अध्यक्ष, संघीय संसद, राष्ट्रिय सभा
 

ट्यागहरु: