अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्षज्यूले दिनुभएको शुभकामना सन्देश


अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सु-स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको यस ऐतिहासिक दिनले समस्त श्रमिकहरूलाई पेसागत हक हित र अधिकारका लागि सङ्गठित र एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।
आजको दिन श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक सङ्घर्षलाई संस्थागत गरिएको दिन हो। पहिलो पटक सन् १८८६ मई १ का दिन अमेरिकाको शिकागो शहरका मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आन्दोलन गरेका थिए। त्यही दिनको स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरूले १ मे लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन्।
हाम्रो संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ। श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानूनहरू बनेका छन्। श्रमिकका पक्षमा बनेका कानून र संविधानप्रदत्त हक कार्यान्वयन भएमा मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुनेछ। नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सङ्घर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन्। किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।
राजनीतिक परिवर्तनको लागि लड्ने श्रमिक वर्गको हितका लागि रोजगारीको ग्यारेन्टी, व्यावसायिक सुरक्षा, स्वास्थ्य उपचार, कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नै पर्दछ। मजदुरहरूको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षाका लागि बीमा लगायतका लोककल्याणकारी सेवा प्रवाहको क्षेत्रमा राज्यले नीतिगत व्यवस्थाका साथै कार्यान्वयनको तहमा लैजानु पर्दछ।
श्रमिक दिवसले सरकार र रोजगारदाताहरूलाई मजदुरहरूको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्ने प्रेरणा मिल्ने विश्वाससहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
२०८१ बैशाख १९, बुधबार (मे १, २०२४)
नेपाल संवत् ११४४ चौलागाः ७, बुधबार

नारायण प्रसाद दाहाल
अध्यक्ष
संघीय संसद
राष्ट्रिय सभा
 

ट्यागहरु: