​अध्यक्ष दाहालले दिनुभयो ईदको शुभकामना


काठमाडौं, चैत २९ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र (ईद) का शुभकामना व्यक्त गर्नुभएको छ। बिहीबार एक शुभकामना सन्देशमार्फत् अध्यक्ष दाहालले ईदको अवसरमा मुस्लिम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको  शुभकामना व्यक्त गर्नुभएको हो।

इस्लाम धर्मावलम्बीले उहाँले ईद पर्वलाई सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्र भएको र संविधानले सबै धर्म, जातजाति, संस्कृति र समुदायलाई समान अधिकार दिएको उहाँले बताउनु भयो। शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “विभिन्न जातजाति, धर्म र समुदाय अनुसारका आ-आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरुले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्। हरेक धर्म, जाति, समुदाय र भूगोलमा आ-आफ्नो संस्कार र आस्थाअनुसार चाडपर्व मनाउनु र सबैका संस्कृति र चाडपर्वलाई सम्मान गर्नु नेपालीहरुको सांस्कृतिक विशेषता पनि हो।”

ईदले धार्मिक सहिष्णुता, सामाजिक-सांस्कृतिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न विशिष्ट भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।