अध्यक्ष दाहालसँग इजरायली राजदूत हानन गोदारले गरे शिष्टाचार भेट


काठमाडौं, चैत २७ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नु भएको छ।

मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल-इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैं मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौं,” उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।”

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनु भयो।

अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरुमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो। अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरु इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभएको थियो।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरु आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्यो धेरै इजरायली नागरिकहरुलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रह समेत गर्नुभयो।

सो अवसरमा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरुका हिसाबले निकै धनी रहेको बताउनु भयो। आफू लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको भन्दै राजदूतले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारा लगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरुले विश्वमै नेपालको पहिचान दिएको बताउनु भयो।

लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताउनु भयो। उहाँले दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घर घरमै पुगेर भेटेको बताउनु भयो। इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको जानकारी दिनुभयो।