अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका राजदूतको शिष्टाचार भेट


काठमाडौं, ७ चैत । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताए-योङ (Park Tae-young) ले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र कोरिया-नेपालबीचको सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीच आर्थिक विकास, रोजगारी लगायत जनस्तरसम्मको सहयोग आदान प्रदान थप घनिष्ट हुनेमा विश्वास व्यक्त गर्नुभयो।

संघीय संसदले नेपाल-कोरिया संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहमार्फत् दुई देशका सांसदहरुबीच संसदीय अनुभव र अभ्यास एक अर्कामा आदान प्रदान गर्न सहज हुने बताउनु भयो।

“हामीले संघीय संसदको तर्फबाट नेपाल-कोरिया संसदीय मैत्री समूह गठन गरेका छौं”, अध्यक्ष दाहालले भन्नुभयो, “संसदीय मैत्री समूहले गठनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै संसदीय अभ्यास र अनुभव आदान प्रदानमा विशेष भूमिका खेल्ने मैले विश्वास लिएको छु।”

भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्कल कोरिया-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पु¥याउने बताउनु भयो। उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकारले विशेष प्राथमिकता दिने पनि उल्लेख गर्नुभयो।

भेटमा राजदूत पार्कले नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाललाई समकक्षी गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सभामुख किम जिन प्यो (Kim Jin-pyo) ले पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भएको थियो।

ट्यागहरु: