राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा माननीय सदस्य नारायण प्रसाद दाहाल निर्वाचित हुनुभएको छ।
२०८० फागुन २९ गते मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माननीय युवराज शर्मालाई पराजित गर्दै माओवादीका तर्फबाट माननीय दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित हुनुभएको हो।
दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको थियो। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना माननीय सदस्यहरु हुनुहुन्थ्यो। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।
कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।
२०२७ सालमा तत्कालीन अनेरास्ववियुबाट राजनीति आरम्भ गर्नुभएका दाहालले २०३१ सालमा पुष्पलाल समूहको कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। २०३६ सालदेखि तत्कालीन चौथो महाधिवेशन (चौम) समूहबाट पूर्णकालीन बन्नुभएका उहाँ २०३७ सालदेखि प्रवासमा पार्टी कामको जिम्मेवारी लिएर जानुभएको थियो। प्रवासमा अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष बन्नुभएका उहाँ पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी बन्नुभएको थियो।
२०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव र २०४५ सालमा अध्यक्ष बन्नुभएका उहाँ २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य बन्नुभएको थियो। २०५३ सालमा पुनः अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष बन्नुभएका दाहाल २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बन्नुभयो।
लामो समय प्रवासको जिम्मेवारीमा रहनुभएका उहाँ संकटकालको बीचमा २०६० सालमा नेपाल फर्किएर नेकपा (माओवादी) भेरी कर्णाली ब्युरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज बन्नुभएको थियो। २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज बन्नुभयो। २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुँदा केन्द्रीय सदस्य र बागमती प्रदेशको अध्यक्ष बन्नुभएको थियो। नेकपा विघटनपछि २०७७ सालमा उहाँ नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष बन्नुभयो।
२०७८ मंसिरमा भएको नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्यमा निर्वाचित उहाँ लगत्तै भएको कार्यविभाजनमा बागमती प्रदेशको सह-इन्चार्जको भूमिकामा रहनुभएको थियो।
संसदीय भूमिकातर्फ भने उहाँ २०६३ सालको अन्तरिम व्यवस्थापिका सदस्य हुनुहुन्थ्यो भने पहिलो संविधान सभामा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो। २०७८ चैत २५ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित दाहाल २०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको छ।