संघीय संसद सचिवालयद्वारा प्रकाशित 'संसदमा समिति प्रणाली (राष्ट्रिय सभा विशेष)' पुस्तक सार्वजनिक


माघ २१, २०७८। संघीय संसद सचिवालयद्वारा प्रकाशित 'संसदमा समिति प्रणाली (राष्ट्रिय सभा विशेष)' पुस्तक सार्वजनिक भएको छ। शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमबीच संसदमा समिति प्रणालीको अवधारणा तथा अभ्यास लगायतका विषय समेटेर प्रकाशन गरिएको पुस्तक सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हस्तान्तरण गरी सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्नुहुँदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रिय सभाले छोटो समयमा देखाएको परिपक्कताका लागि धन्यवाद व्यक्त गर्नुभयो।

राष्ट्रिय सभा स्थानीय तह र प्रदेश सभाका प्रतिनिधिले निर्वाचित गर्ने प्रतिनिधिको पनि प्रतिनिधिमुलक संस्था भएकाले यसको भूमिका विशिष्ट भएको बताउनुभयो। राष्ट्रिय सभाले आफ्नो विशिष्ट भूमिकाको पहिचान गरी नियमित काम सँगै अभिलेख व्यवस्थापन, अनुसन्धान र प्रकाशनमा समेत ध्यान दिएकोमा खुसी व्यक्त गर्नुभयो।

'अहिले सांसदहरूले अध्ययन, लेखन अनुसन्धानमा त्यति ध्यान नदिएको कुराहरू आउने गर्छन्,' सम्माननीय राष्ट्रपति भण्डारीले भन्नुभयो, 'राष्ट्रिय सभा र संसद सचिवालयले अध्ययन, लेखन तथा प्रकाशन गर्ने परम्पराको थालनी गरेको छ। यसको  निरन्तरताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।' 

राष्ट्रपति भण्डारीले संसद संविधान जारी गर्ने, संशोधन गर्ने, सरकार बनाउने, सरकारले संविधान र कानुन बमोजिम काम गरे वा नगरेको निगरानी गर्ने तथा जनताको पक्षमा काम गर्न निर्देशन गर्ने विशिष्ट थलो भएको बताउनुभयो।

'संघीय संसदले आफ्नो भूमिका र जिम्बेवारी बोध गर्दै समयअनुसार प्रभावकारी ढंगले काम गर्न म आग्रह गर्दछु,' उहाँ भन्नुभयो, 'संसदका सबै वैठक, गतिविधिलाई राम्रोसँग अभिलेखिकरण गरेमा भविष्यमा यसका अध्यता र अभ्यासकर्तालाई सहज हुनेछ।'

राज्यका सबै निकायले आफ्नो भूमिका संविधान र कानुन बमोजिम निर्वाह गरेमा लोकतन्त्र र देशको अर्थतन्त्र मजबुद बन्दछ। संविधानले राष्ट्रपतिलाई कार्यकारी नभै संवैधानिक बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'कार्यकारीले ल्याए अनुसार राष्ट्रपतिले काम गर्ने हो।मैले त्यहीअनुसार नै काम गर्दै आएको छु।'     

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सभा गठन भएको चार वर्षमा सभा र समिति भित्रका अभ्यास र अनुभव बारेको पुस्तक संसदका समिति प्रणालीको अध्ययनका लागि महत्वपूर्ण हुने बताउनुभयो।  

कार्यक्रममा सम्माननीय अध्यक्ष तिमिल्सिना, माननीय उपाध्यक्ष शशीकला दहाल, राष्ट्रिय सभा अन्तर्गत समितिका माननीय सभापति ज्यूहरु लगायतको उपस्थिति रहेको थियो।
 
जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चको प्रकाशन सहयोग रहेको पुस्तक विभिन्न १० लेख समेटिएको छ। राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले सम्पादन गर्नुभएको पुस्तकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पुस्तकको भूमिका लेख्नुभएको छ। 
पुस्तकमा राष्ट्रिय सभाका समितिहरूमा चार वर्ष नेतृत्व गर्नुभएका माननीय सभापतिज्यूहरू, राष्ट्रिय सभाको समावेशी स्वरुप प्रतिनिधित्व हुनेगरी छनोट गरिएका माननीय सदस्य ज्यूहरुको विचार पुस्तकमा समेटिएको छ। त्यसैगरी संघीय संसदमा समिति प्रणालीको प्रभावकारिता, समिति प्रणालीको अन्तर्राष्ट्रिय विकास र अभ्यासको नमुनाका रूपमा अस्ट्रेलिया र अमेरिकी प्रणाली बारे विज्ञहरुका लेख पुस्तकका समेटिएको छ।

पुस्तकले राष्ट्रिय सभा र त्यस अन्तर्गतका समितिले कसरी काम गर्छन् भन्ने जनकारी पाउन, आगामी दिनमा सुधार गर्नुपर्ने विषय तथा संसदीय प्रणालीलाई थप मजबुत बनाउन मद्दत पुर्यायउने विश्वास लिइएको छ।