सिद्धार्थ गौतम बुद्धको २५६४ औं जन्मजयन्तिका अवसरमा शुभकामना व्यक्त
२५ वैशाख, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको २५६४ औं जन्मजयन्तिका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष तिमिल्सिनाद्वारा व्यक्त शुभकामना:
विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको २५६४ औं जन्मजयन्तिका अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय बैशाख दिवस (The day of Vesak)का रुपमा मनाउँदै आएको छ। यस अवसरमा महामानव, विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता जसलाई मानव जातीले भगवानका रुपमा मान्ने गरेको छ, उहाँलाई उच्च आदार तथा सम्मान व्यक्त गर्न चाहन्छु।
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याती र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ। लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थान मात्र नभएर बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम थलो हो।लुम्बिनीलाई विश्व शान्ति शहरका रुपमा विकास गर्नुपर्दछ।जसका लागि आवश्यक पूर्वाधार तयार गरी संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरी छ।
अहिले विश्वनै नोवल कोरोना भाइरस (कोभिड-१९)को कारणले आक्रान्त भएको छ।जसको संक्रमण नेपाल र नेपालीहरुमा पनि देखा परेको छ। विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तिको यस शुभ अवसरमा विश्वभर कोरोना संक्रमणबाट निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
नेपाली जनता र सरकारको सजगता, सक्रियताका कारण यो भाइरस नेपालमा तिब्र रुपमा फैलिन पाएको छैन।तर, यसको उच्च जोखिम नेपालमा कायम नै छ।त्यसकारण यो महामारीबाट जोगिन सबै नागरिक आ-आफ्नो ठाउँबाट सजक हुँदै सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्द अपिल गर्दछु। साथै कोरोनाको महामारीबिरुद्ध दिनरात नभनी खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र नेपाली जनातालाई धन्यवाद व्यक्त गर्दछु।
यस अवसरमा कोरोना महामारीलाई पराजित गर्दै आर्थिक तथा सामाजिक रुपले विश्वलाई पुरानै अवस्थामा फर्काउन तथा मानव जीवनको रक्षामा ऐक्यवद्धता प्रदर्शन गर्न हामी सबैलाई यस दिनले प्रेरणा मिलोस भन्ने कामना गर्दछ।
२५ वैशाख २०७७।