अध्यक्षद्वारा नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त


१ बैशाख, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्ष २०७७ को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभएको शुभकामना :

नयाँ वर्ष २०७७ सालको शुभ अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

अहिले विश्वनै नोवल कोरोना भाइरस (कोभिड-१९)को कारणले आक्रान्त भएको छ।जसको संक्रमण नेपाल र नेपालीहरुमा पनि देखा परेको छ। नयाँ वर्षको यस अवसरमा विश्वभर कोरोना संक्रमणबाट निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट जारी भएको नेपालको संविधान बमोजिम "समृद्ध नेपाल: सुखी नेपाली"को नारासहित अगाडि बढिरहेको नेपाललाई कोरोनाको महामारीले प्रभाव पारेको छ। जनता र तीन तहकै सरकारको सजकता र सक्रियताका कारण यो भाइरस नेपालमा तिब्र रुपमा फैलिन पाएको छैन।यद्यपी यसको जोखिमबाट नेपाल मुक्त भने छैन। त्यसकारण यो महामारीबाट जोगिन सरकारले जारी गरेको  निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय हो। कोरोनाको महामारीबिरुद्ध लड्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खेलेको भूमिका प्रशंसनीय छ।यस महामारीबिरुद्ध दिनरात नभनी खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी  र नेपाली जनातालाई धन्यवाद व्यक्त गर्दछु।

२०७७ सालले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वसमुदायलाई सामान्य अवस्थामा फर्कन उर्जा प्रदान गर्ने विश्वासका साथ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

१ बैशाख, २०७७