दिगो विकास तथा सुशासन समिति
संक्षिप्त परिचय :-
संविधानको प्रावधान तथा राष्ट्रिय सभा नियमावली २०७५ को प्रावधान बमोजिम दिगो विकास तथा सुशासन समितिको गठन भएको हो । सरकारलाई राष्ट्रिय सभाप्रति नैतिक रुपमा उत्तरदायी र जवाफदेही बनाउन एवं सरकारबाट सम्पादित कार्यहरु एवं गतिविधिको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन एवं सुझाव दिनु समितिको कार्य हो । नेपाल सरकारले अख्तियार गरेको दिगो विकास र सुशासन प्रवर्धन सम्बन्धी विषय यस अन्तर्गत पर्दछ । विषयगत समितिको प्रावधान राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४७ बमोजिम र समितिको गठन नियम १४९ बमोजिम भएको हो । मिति २०७५/०४/१७ गते राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट यस समितिमा रहने सदस्यहरुको मनोनयन भएको हो । हाल समितिमा १५ जना माननीय सदस्यहरु हुनुहुन्छ । समितिको पहिलो बैठक मिति २०७५/०४/२२ गते बसेको हो । समितिको गणपूरक संख्या समितिको सम्पूर्ण सदस्य संख्याको एक तिहाई हुने व्यवस्था छ । समितिको बैठकमा उपस्थित समितिको बहुमतको निर्णय नै समितिको निर्णय मानिन्छ । मत वरावर भएमा समिति सभापितले निर्णायक मत दिने व्यवस्था छ । बैठकको निर्णयको प्रमाणीकरण सभापति र समिति सचिवबाट हुन्छ ।
नेपाल सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्धन सम्वन्धी विषय समितिको कार्य क्षेत्र भित्र पर्दछ । सुशासनयुक्त विकास नै सार्थक, सन्तुलित र न्यायसंगत हुने हुँदा विकासका वहुआयामिक पक्षलाई कार्यान्वयन गर्न र दिगो व्यवस्थापन गर्न आवश्यक समन्वय, निर्देशन पैरवी, अनुगमन् बहस एवं दिगो विकास तथा सुशासन कार्यान्वयनको लागि स्थापित संयन्त्रहरुको प्रभावकारी नियमनको लागि पहलकदमी गर्नु पनि समितिको दायित्व हो । समावेशी, सन्तुलित र समन्यायिक विकासलाई सारभूत रुपमा कार्यान्वयन हुने नीति, योजना, कार्यक्रम, बजेट, कार्यप्रक्रिया र उपलब्धीको अनुगमन, निगरानी, सचेतीकरण र दिशाबोध गराउनु पनि समितिको दायित्व हो ।
आर्थिक, नैतिक, वातावरणीय, सामाजिक, प्राकृतिक तथा मानवीय विकास सहितको दिगो, सन्तुलित एवं सहभागितामुलक विकासबाट नेपाल सरकारले प्रतिवद्धता जनाएको दिगो विकास लक्ष्य कार्यान्वयन निर्धारित समयमा नै सम्पन्न गर्न आर्थिक, सामाजिक र मानवीय विकास सूचकमा जोड दिनु पर्दछ । यस परिदृश्यमा विकासका समष्टिगत आयामका पारदर्शिता, जवाफदेहीता, वैधता, न्यायसंगतता, सूचानाको प्रत्याभूति, नागरिक सर्वोच्चता, विधिको शासन, भ्रष्टाचार रहितता, मानव अधिकारको संबर्धन, शान्ति, न्याय, समानता र उच्चतम मानवीय भलाईका लागि विकास र सुशासनको समन्वयत्मक विश्लेषण गरी यथोचित निर्देशन दिन समितिबाट हुने बैठक, अन्तरक्रिया, अनुगमन, निर्देशन र समन्वय दिगो विकासको लक्ष्य कार्यान्वयन र सुशासन प्रबर्धनमा केन्द्रित हुने छ । समितिका सम्पूर्ण गतिविधिहरु, सूचनाहरु, प्रकाशनहरु वेभसाइटमा हेर्न सकिनेछ ।
समितिको बैठकः
समितिको मिति २०७५/०४/२२ गते पहिलो बैठक बसेको थियो । राष्ट्रिय सभा नियमावलीको नियम १५० बमोजिम सभापतिको निर्वाचन नहुँदासम्म नियम १५२ को उपनियम (२) बमोजिम समितिका ज्येष्ठ सदस्य माननीय दीनानाथ शर्माको अध्यक्षतामा समितिका ५ वटा बैठकहरु सम्पन्न भएका थिए । मिति २०७५/०५/२१ का दिन समितिको सभापतिमा निर्वाचित हुनुभएको माननीय तारा देवी भट्टले २०७८।११।२० सम्मका बैठकहरुको अध्यक्षता गर्नुभयो । माननीय तारा देवी भट्टको राष्ट्रिय सभा सदस्यको पदावधि २०७८।११।२० मा समाप्त भएपश्चात सभापतिको पद रिक्त रहेको छ । हाल माननीय बामदेव गौतम समितका ज्येष्ठ सदस्य हुनुहुन्छ ।
समितिको बैठक सभापतिले आवश्यकता अनुसार बोलाउने व्यवस्था छ । तर समितिको बैठक स्थगित भएको अवस्थामा छलफल गर्नुपर्ने विषय सहित बैठक बोलाउन उपयुक्त छ भनी समितिका एक तिहाई सदस्यले सभापति समक्ष लिखित अनुरोध गरेमा पाँच दिनभित्र सभापतिले बैठक बस्ने मिति र समय तोक्नुपर्दछ ।
समितिको बैठकको सभापतित्व सभापतिले वा निजको अनुपस्थितिमा समितिको बैठकमा उपस्थित सदस्य मध्ये ज्येष्ठ सदस्यले सभापतित्व गर्दछन् । समिति वा उपसमितिको बैठक संसद भवनको परिसरभन्दा बाहिर बस्नु परेमा सभापतिले सभामुखको लिखित अनुमति प्राप्त गर्नु पर्दछ ।
गणपुरक संख्या
समितिको गणपूरक सङ्ख्या समितिको सम्पूर्ण सदस्य संख्याको एक तिहाई हुने व्यवस्था छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सभापतिले अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्न सक्दछ । तर समितिको बैठकमा गणपूरक संख्या नपुगी लगातार दुई पटक बैठक स्थगित गर्नु परेमा सभापतिले त्यसको जानकारी अध्यक्षलाई दिने व्यवस्था छ ।
समितिको निर्णय
समितिको बैठकमा उपस्थित समितिका सदस्यको बहुमतको निर्णय समितिको निर्णय मानिन्छ र मत बराबर भएमा सभापतिले निर्णायक मत दिने व्यवस्था छ ।
समितिको बैठकको निर्णय सभापति र समिति सचिवबाट प्रमाणित हुने व्यवस्था छ ।
समितिका निर्णयहरु प्रकाशनहरु/डाउनलोडहरुमा क्लिक गरी हेर्न सकिन्छ ।
समितिको कार्य क्षेत्रः
क) समितिको कार्यक्षेत्र अन्तर्गत नेपाल सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्द्धन सम्बन्धी विषय पर्दछ ।
समिति सचिवालय :
राष्ट्रिय सभा नियमावली¸ २०७५ को नियम १६२ बमोजिम सचिवालय अन्तर्गत प्रत्येक समितिको सचिवालय रहने व्यवस्था छ । सचिव प्रत्येक समितिको पदेन सदस्य हुने र महासचिवले आफु मातहतको वरिष्ठ अधिकृतलाई समिति सचिवको रुपमा तोक्न सक्ने व्यवस्था बमोजिम हाल सहसचिव श्री इन्द्रविलास पौडेल समिति सचिव हुनुहुन्छ ।
दिगो विकास तथा सुशासन समितिको सचिवालयमा कार्यरत कर्मचारीहरुको विवरण |
||
क्र.सं. |
पद |
नाम थर |
१ | समिति सचिव | श्री इन्द्रविलास पौडेल |
२ | उपसचिव | श्री कान्छा दुलाल |
३ | शाखा अधिकृत | श्री जनकराज अधिकारी |
४ | नायब सुब्बा | श्री राकेश प्रसाद साह |
५ | कार्यालय सहयोगी | श्री विनोद खरेल |
सम्पर्क नंः ४२००६८४
E-mail:digocommittee@parliament.gov.np
(पछिल्लो पटक अद्यावधिक गरिएको - २०७९।३।५)