विधायन व्यवस्थापन समिति
समितिको काम, कर्तव्य र अधिकार:
नियम १४७ को उपनियम (१) बमोजिमको कार्यक्षेत्रको परिधिभित्र रही विधायन व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
- सभाबाट दफावार छलफलका लागि समितिमा प्राप्त विधेयकउपर दफावार छलफल गरी सो सम्बन्धी प्रतिवेदन बैठकमा पेश गर्ने,
- विधेयकका सम्बन्धमा सर्वसाधारणले दिएको सुझावउपर छलफल गर्ने,
- ऐनको कार्यान्वयन प्रभावकारिता सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सोको प्रतिवेदन सहित सरकारलाई निर्देशन दिने,
- संघीय इकाइहरूबीच विधायिकी अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन कानून निर्माणका क्रममा समन्वय गर्ने र संघ र प्रदेश वा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीभित्रका विषयमा कानून बनाउँदा सम्बन्धित सरोकारवालाको सुझाव लिने,
- प्रदेश र स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा अध्ययन गर्ने र असल अभ्यासको आदान-प्रदान गर्ने,
- विधायन व्यवस्थापनसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गर्ने,
- समितिको क्षेत्राधिकारभित्रको जुनसुकै विषयमा जनताको राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि संघ, प्रदेश वा स्थानीय तहमा समेत संसदीय सार्वजनिक सुनुवाइ गर्ने र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
- सर्वसाधारणवाट प्राप्त उजुरीको सुनुवाइ गर्ने,
- समितिले दिएको निर्देशन कार्यान्वयनको अनुगमन मूल्याङ्कन र समीक्षा गर्ने,
- यस नियम अन्तर्गत समितिले गरेका काम कारबाहीका सम्बन्धमा आफ्नो राय सहितको प्रतिवेदन सभामा पेश गर्ने, र
- बैठकले सुम्पेको अन्य काम गर्ने।