दिगो विकास र सुशासन कार्यान्वयन सम्बन्धी त्रिदिवसीय कार्यशालाको संक्षिप्त झलक २०७६/०४/३१,३२ र २०७६/०५/०१


दिगो विकास र सुशासन कार्यान्वयन सम्बन्धी त्रिदिवसीय कार्यशालाको संक्षिप्त झलक

 

दिगो विकासका लक्ष्यहरु कार्यान्वयन तथा सुशासन सुदृढीकरणमा संसदीय भूमिका विषयक राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्यहरुको संयुक्त कार्यशाला गोष्ठी २०७६/०४/३१, ३२ र २०७६/०५/०१ गते धुलिखेलमा सम्पन्न भयो । दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन सत्रमा माननीय अर्थमन्त्री युवराज खतिवडा ज्यूको प्रमुख आतिथ्यमा समितिका माननीय सभापतिहरु, समितिका माननीय सदस्यहरु , सातवटै प्रदेशका माननीय सदस्यहरु ,ने.क.पा.का राष्ट्रिय सभाका मुख्य सचेतक ,विभिन्न दलका सचेतकहरु , कर्मचारीहरु , विभिन्न विषयका विज्ञहरु ,कर्मचारीहरु र यू.एन.डी.पी.का सदस्यहरु समेत गरि १०० जना भन्दा बढीको उपस्थिति भई कार्यक्रम सञ्चालन भएको  थियो । कार्यक्रममा स्वागत मन्तब्य मा.सरिता प्रसाईले गर्नुभएको थियो भने माननीय दिनानाथ शर्माले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो । अर्थमन्त्री माननीय युवराज खतिवडा ज्यूले दिगो विकास र सुशासन कार्यान्वयनमा जोड दिनुपर्ने विषयमा प्रष्ट पार्नुभयो । कार्यक्रम सञ्चालन समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) ले गर्नुभएको थियो ।

कार्यक्रममा समावेशीकरण र लैगिक सन्तुलन, सुशासन , जलवायु परिवर्तन जस्ता जेनेरिक विषय र कृषि ,शिक्षा ,स्वास्थ्य , भौतिक पूर्वाधार र गरिबी विषयमा अन्तरक्रिया भएको थियो । समुद्घाटन सत्र पश्चात दिगो विकास र सुशासन कार्यान्वयन सम्बन्धमा माथि उल्लेखित विषयक्षेत्रमा प्रदेशगत अवस्थाबारे प्रदेश नं. १ बाट प्रदेश सभा सदस्य मा. बुद्धिकुमार राजभण्डारीबाट प्रस्तुतिकरण भएको थियो भने प्रदेश नं. २ बाट माननीय शिवचन्द्र चौधरी ,प्रदेश नं. ३ बाट मा. रमेश पौडेल , गण्डकी प्रदेशबाट मा. इन्द्रलाल सापकोटा ,प्रदेश नं.५ बाट मा.इन्द्रजित थारु ,कर्णाली प्रदेशबाट मा. मिनासिंह रखाल र सुदुरपश्चिम प्रदेशबाट मा. विरमान चौधरीले प्रदेशको अवस्था ,चुनौति र अवसरको सम्बन्धमा तथ्यगत प्रस्तुतिकरण गर्नु भएको थियो ।

जेनेरिक विषयमा शान्तालक्ष्मी श्रेष्ठ ,बिन्दुनाथ लोहनी,  डा. बिमल कोइराला र प्रभु बुढाथोकीले प्रस्तुति गर्नुभएको थियो भने मुख्य ५ विषयक्षेत्र अन्तर्गत कृषिमा मधुकर उपाध्याय, स्वास्थ्य र सरसफाईमा डा.पदम बहादुर चन्द ,शिक्षा समूहमा महाश्रम शर्मा ,भौतिक पूर्वाधार विकास समूहमा किशोर थापा र गरिबी निवारण समूहमा विद्याधर मल्लिकले प्रमुख सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । पाँचबटै विषयगत क्षेत्रमा सघन छलफल र अन्तरक्रिया एवं प्रदेश माननीयहरुवीचको अनुभव आदान प्रदानबाट दिगो विकास तथा सुशासन कार्यान्वयन सम्बन्धमा साझा बुझाइ भएको थियो । कार्यक्रमको संक्षेपीकरण र विज्ञ संयोजन जनकराज जोशीबाट समेत भएको थियो ।

पाँचवटै विषयगत क्षेत्रको सिकाईको बृहद समूहमा अन्तरप्रस्तुति गरि जिज्ञासा र सुझावको सामुहिक आन्तरिकीकरण भएको थियो । विषयगत सिकाइको प्रस्तुति अन्तर्गत शिक्षा समूहबाट प्रदेश सभा सदस्य मा.उमिता विश्कर्मा,  स्वास्थ्य तथा सरसफाइबाट प्रदेश सभा सदस्य मा. राधा घले ,कृषि समूहबाट प्रदेश सभा सदस्य मा.शशीजंग थापा,  भौतिक पूर्वाधार समूहबाट प्रदेश सभा सदस्य मा. मिना ज्ञवाली, गरिवी समूहबाट प्रदेश सभा सदस्य मा. ज्वाला कुमारी शाहले प्रस्तुति गर्नु भएको थियो । दिगो विकास र सुशासन कार्यान्वयनमा कार्यगत एकताको लागि सञ्जाल गठन र भावी कार्यदिशा सम्बन्धमा मा. विमला राई पौड्यालले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको पृष्ठपोषण सम्बन्धमा पनि सहभागी प्रदेश सभाका माननीयहरुबाट प्रस्तुति भएको थियो ।

कार्यक्रमको समापन मन्तब्यमा  सभापति मा. तारादेवी भट्टले दिगो विकास कार्यान्वयनमा जनप्रतिनिधिहरुले सशक्त भूमिका खेल्नुपर्ने विषय उल्लेख गर्नुभयो । कार्यगत एकता र अनुभव आदानप्रदानका लागि अग्रणी भूमिका निर्वाह गर्ने सांसद सञ्जाल गठन र कार्यप्रभावकारीता प्रवर्धनमा समेत प्रकाश पार्नु भयो । सामुहिक प्रतिबद्धता मार्फत दिगो विकास सम्भव हुने प्रष्ट पार्दै कार्यान्वयनको सन्दर्भमा अग्रसक्रिय भूमिका निर्वाह गनुपर्ने  उल्लेख गर्नुभयो । नीति, कानून, योजना, कार्यक्रम ,व्यवस्थापन सम्बन्धमा विद्यमान मुद्दाको पहिचान, उठान, बहस, पैरवी र प्राथमिकता निर्धारणमा सहि दिशा निर्देश गर्न  अग्रणी सांसद समूह सक्रिय र क्रियाशिल हुनुपर्ने प्रतिबद्धता पत्रसमेत पढेर सुनाउनुभयो । यस कार्यक्रमबाट समितिले दिगो विकास र सुशासन कार्यान्वयन प्रभावकारी हुने अपेक्षा लिएको छ ।