नगरकोट कार्यक्रमः प्रत्यायोजित विधायन सम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका मा.सदस्यहरुसँग छलफल


प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आयोजनामा राष्ट्रिय सभाका माननीय सदस्यहरु एवं प्रतिनिधि  सभाका आमन्त्रित सभापतिज्यूहरु र राष्ट्रिय सभाका सचिवहरुको लागि प्रत्यायोजित व्यवस्थापन सम्बन्धमा प्रबर्द्धनात्मक कार्यक्रम यहि जेठ २४ र २५ गते नगरकोटको कन्ट्रि भिल्लामा सम्पन्न भयो ।प्रत्यायोजित व्यवस्थापन समिताका सभापति माननीय रामनारायण विडारीको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना साथै राष्ट्रिय सभाका सदस्य एवं माननीय अर्थ मन्त्रि युवाराज खतिवडाको समेत उपस्थिति थियो ।

चार सत्रमा सञ्चालित दुइ दिवसीय उक्त कार्यक्रममा प्रत्यायोजित व्यवस्थापनको सिद्धान्त र व्यवहारः कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय सभाका समितिहरुको भूमिका, प्रत्यायोजित व्यवस्थापन सम्बन्धी कानूनको तर्जुमा र  निगरानी सम्बन्धी संसदीय अभ्यास, प्रत्यायोजित व्यवस्थापनको  अभ्यास र निगरानी कार्यमा राष्ट्रिय सभाका समितिहरुको भूमिका र अन्तर समन्वय प्रत्यायोजित विधायन अन्तर्गत कानून निर्माणमा समाविष्ट गर्नुपर्ने विषय‍हरु सम्बन्धमा छलफल भएको थियो । विज्ञहरु, राजुमानसिंह मल्ल, माधव पौडेल, रमेश लेखक र रमेश ढकालबाट कार्यपत्र प्रस्तुतिकरण भएको थियो ।

प्रत्यायोजित अधिकार अन्तर्गत ८० प्रतिशत कानून बन्ने सन्दर्भमा मूल ऐनले प्रत्यायोजन गरेको विषयमा मात्र कानून बन्न्पर्ने विषयमा अन्तर्क्रिया भयो । ऐनमा नभएको प्रत्यायोजनमा समेत कतिपय अवस्थामा नियम र निर्देशिका बनेकोले विषय स्पष्ट गरेर अधिकार प्रत्यायोजन गर्नेुपर्ने विषयमा समेत बहस भएको थियो । समिति सभापति माननीय  रामनारायण विडारीले प्रत्यायोजित अधिकार दुरुपयोग भएकोले यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउनु भयो। ४२ जना माननीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विज्ञ, कर्मचारी,पत्रकार र अन्य गरी ७५ जनाको उपस्थिति थियो ।