सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा नियमावली, २०७५ (दोस्रो संसोधन) १४७ को उपनियम (१) बमोजिमको कार्यक्षेत्रको परिधिभित्र रही सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) नेपाल सरकारका क्षेत्रगत नीतिको मस्यौदाको चरणमा छलफल गरी सुझाव दिने र जारी भएका क्षेत्रगत नीतिको विश्लेषण र अनुगमन तथा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(ख) मन्त्रीले सरकारको तर्फबाट बैठकमा दिएका लिखित वा मौखिक आश्वासनलाई पूरा गर्न नेपाल सरकारद्वारा चालिएका कदमका सम्बन्धमा अध्ययन, अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(ग) सरकार प्रमुखबाट राष्ट्रको नाममा हुने सम्बोधन र नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिवद्धताको कार्यान्वयनको सम्बन्धमा छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने.
(घ) प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको प्रत्यायोजित विधायन संविधान, सम्बन्धित ऐन, प्रचलित कानून बमोजिम बने नबनेको सम्बन्धमा र सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप काम भए नभएको सम्बन्धमा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(ङ) ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाको सम्बन्धमा अध्ययन अनुसन्धान, छलफल गर्ने र आवश्यक निर्देशन दिने,
(च) राष्ट्रिय महत्त्वको दस्तावेजको अभिलेख व्यवस्थापनको अनुगमन तथा मूल्याङ्कन तथा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(छ) समितिको क्षेत्राधिकारभित्रको जुनसुकै विषयमा जनताको राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि संघ, प्रदेश वा स्थानीय तहमा समेत संसदीय सार्वजनिक सुनुवाइ गर्ने र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(ज) सर्वसाधारणवाट प्राप्त उजुरीको सुनुवाइ गर्ने,
(झ) समितिले दिएको निर्देशन कार्यान्वयनको अनुगमन, मूल्याङ्कन र समीक्षा गर्ने,
(ञ) यस नियम अन्तर्गत समितिले गरेका काम कारबाहीका सम्बन्धमा आफ्नो राय सहितको प्रतिवेदन सभामा पेश गर्ने, र
(ट) बैठकले सुम्पेको अन्य काम गर्ने।