Meeting with British Ambassador


२० वैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । 
अध्यक्ष तिमिल्सिना र राजदूत मोरिसबीच अध्यक्षको कार्यकक्षमा दुई देशको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबार (वैशाख) २३ देखि गर्ने नेपाल भ्रमणबारे  कुराकानी भएको थियो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले  नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारे स्मरण गर्नुभएको थियो । उहाँले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताउनुभयो ।
दुई देश बिच बेला बेलामा हुने उच्च स्तरीय भेटघाट नै दुई देश बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लागेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको संसद र बेलायतको संसद बीचपनि सुमधुर सम्बन्ध रहेको बताउनुभयो । 
उहाँले नेपालको संघीय संसद दुई सदनात्मक रहेको जानकारी गराउँदै दुई सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिकाबारे बताउनुभयो । उहाँले बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदन बारे अनुभव आदानप्रदान हुँदा दुबै पक्ष लाभाम्बित हुने विश्वास व्यक्त गर्नुभयो । ‘दुई दिनपछि २३ बैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सदभावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘यसले मलाई खुसी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उहाँहरुलाई स्वागत गर्न तत्पर छौं ।’
नेपालको भौतिक एवं आर्थिक लगायतका विकासका हरेक आयाम हरुमा बेलायतको सहयोग उल्लेखनीय रहेको र यस प्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 
त्यसैगरी उहाँले ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई मजबुद बनाउन सहयोग गरेको बताउँदै सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो ।
भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको बताउँदै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न तयार रहेको बताउनुभयो । उहाँले आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा दुई देशको सम्बन्ध तथा संसदीय अभ्यासबारेको अनुभव साटासाटले सम्बन्ध मजबुद बनाउने बताउनुभयो ।

Tags: